असोज २० काठमाडौ। निक्कै चासो र चर्चाको विषय बनेको करिब ३८ क्विन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले मंगलबार गरेको छ। पक्राउ परेका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश भरत लम्सालको इजलासले मुद्दाको फैसला गरेको हो।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ८ जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाइएको अदालतका सूचाना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ। जन्मकैदको सजाय पाएकाले २० वर्ष जेल बस्नुपर्छ।
अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भयो। अरुले सफाइ पाए। धमलाका अनुसार यसको सजाय निर्धारणका लागि १ महिनापछि पुनः पेस गरिने छ। बहुचर्चित मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ।
तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो। २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो।
गायब बनाएको सुन निकाल्न दबाब दिँदै गोरेले बारम्बार सनमलाई करेन्ट लगाइरहेको भिडियोमा देख्न सकिन्छ। दोषी ठहर भएकामध्ये ठकुरी, काफ्ले र कार्की सनमको शव फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका अभियुक्त हुन्। सनमको हत्यामा उनीहरु प्रत्यक्ष जोडिएका थिए। तीनै जना गोरेका सहयोगी एवं सवारी चालक हुन्। शेर्पा सनमको हत्यामा प्रत्यक्ष जोडिए पनि त्यतिबेला पक्राउ परेका थिएनन्।
हत्या गरेपछि उनको शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा लगेर एक रात राखियो। सनमको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
राजन कुमार पनि गोरेका सवारी चालक हुन्। हराएको सुन खोज्ने क्रममा उनैले चलाएको गाडीमा बसेर गोरे काठमाडौंबाट उर्लाबारीसम्म आएको अनुसन्धानबाट खुलेको छ। घिमिरे सनमको हत्या हुनुभन्दा अघि घटनास्थल पुगेको खुलेको थियो। हत्यामा उनको प्रत्यक्ष संलग्नता भने देखिएन। गोरेको गिरोहले घिमिरेकै घरमा अड्डा जमाएर हराएको सुन खोज्नेदेखि लिएर अरु गतिविधी सञ्चालन गर्ने गरेको पत्ता लागेको छ।
भण्डारी सनमको हत्या हुँदा घटनास्थलमै उपस्थित रहेको अनुसन्धानबाट खुलेको छ। अदालतमा मुद्दा दर्ता भएपछि फरार रहेका उनी ६ महिनाअघि मात्रै अदालतमा हाजिर भएका हुन्। अदालतको आदेशबाट उनी थुनामा थिए। दोषी ठहर भएकाहरुको हत्यामा कुनै न कुनै हिसाबले संलग्नता पुष्टि भएको अदालतले जनाएको छ।
सुन तस्करका भरिया रहेका सनमको हत्या भएको घटनाको अनुसन्धान थाल्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्विन्टल सुन तस्करी भएको पत्ता लागेको थियो। यस प्रकरणमा पूर्वदेखि बहालवाला प्रहरी अधिकारी र धनाड्य व्यापारीसमेत मुछिए। घटनापछि फरार बनेका गोरेलाई काठमाडौंबाट पक्राउ गरेर २०७५ साल जेठ ९ गते मोरङ अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशबाट उनी कारागार चलान भएका थिए।
सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो। त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो।
मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो। कानुन व्यवसायीको प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि मुद्दाको फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए। उनका अनुसार वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका थिए।
मुलुककै ध्यान केन्द्रित गरेको यस घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानमा गोरे मुख्य नाइके रहेर सुन तस्करी भइरहेको पत्ता लाग्यो। तस्करले सुन नेपाल भित्र्याउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग गरेका थिए।
उच्च प्रहरी अधिकारीले तस्करसँग मिलेमतो गरेर जहाजमार्फत हुने तस्करीका लागि बाटो फराकिलो बनाइदिएको दाबी सरकार पक्षको थियो। तर तस्करीको सुन भने बरामद हुन सकेन। प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरु सबैले मुद्दामा सफाइ पाएका छन्। दुबईबाट नेपालको बाटो हुँदै ल्याएपछि सुन भारततिर पुर्याइएको दाबी गरिएको छ।
श्रेस्तेदार राणाका अनुसार संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा अभियुक्तमध्ये उच्च प्रहरी अधिकारीसहित ४८ जनाले सफाइ पाएका हुन्। जम्मा प्रतिवादी ७७ जना थिए। ५६ अभियुक्त पक्राउ परिसक्दा २१ जना अझै फरार छन्।
राणाका अनुसार फरार रहेकाको हकमा मुद्दा मुल्तवीमा राखिएको छ। दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने जानकारी उनले दिए।
नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्बरबहादुर थापामगर, विष्णुबहादुर खड्कासमेत मुद्दाका प्रतिवादी थिए। घटनापछि खत्री र राउत भने थुनामै थिए। अरु उच्च अदालत विराटनगरको आदेशबाट छुटे। थुनामा रहेका र यसअघि नै छुटेका उनीहरु सबैले सफाइ पाए।
मुद्दामा प्रतिवादी बनाइएकी गोरेकी पत्नी नीरु भनिने नर्बदा खरेलले पनि सफाइ पाएकी छन्। तस्करीको सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङ, डेबिट छिरिङ वाङ्गेल घले, हरिशरण खड्का, बेनु श्रेष्ठ लगायत दोषी ठहर भएनन्। बेनु र गोरेकै ‘डिजाइन’मा सुन तस्करी हुँदै आएको खुलेको थियो। सनमको हत्यामा खड्काको अप्रत्यक्ष संलग्नताको दाबी गरिएको थियो।
चेतन भनिने चेतनाथ भण्डारी, रामकुमार तिवारी, सुनील श्रेष्ठ, गीता श्रेष्ठ, आरके भनिने राजेन्द्रकुमार शाक्य, शैयद अकबर साह, मदन सिलवाल, तक्लु भनिने पुन्यप्रसाद लामा, एलबी भनिने लालबहादुर मगर, बाला दाइ भनिने बालकृष्ण खड्का, मोतीराम श्रेष्ठ प्रमोदकुमार श्रेष्ठ, चाचा जी भनिने महावीरप्रसाद गोल्यानसमेतले सफाइ पाएका छन्। तस्करीको सुन खरिदबिक्री गर्नेदेखि लिएर भारतसम्म ‘सप्लाई’ गर्ने धन्दामा उनीहरुको संलग्नता रहेको दाबी गरिएको थियो।
त्यस्तै विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, विमल पोद्धार, आरडी राजु भनिने राजकुमार दारुका र डब्लु भनिने इम्तियाज उद्धिम, दुवईका ट्राभल्स एजेन्सी सञ्चालक ठाकुरप्रसाद ढुंगाना र अर्का अभियुक्त रोशन भनिने गुप्तलाल भुसालसमेतले मुद्दामा दोषी करार भएनन्।
मुद्दामा सफाइ पाउनेमध्ये कपिलराज पुरी, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, अम्मरमान ढंगोल, राजन थापा, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत र सम्वीरप्रसाद तोलांगे तथा हेमन्त गौतम थाइ एयरलाइन्सका कर्मचारी हुन्। तुलाराम थारु नेपाल एयरलाइन्सको गाडी चलाउँथे।
स्रोत : अन्नपूर्ण पोस्ट