असोज ११, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी एमालले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेरहद यथावत रहने भएको छ। एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत दस्तावेजहरूको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्षे उमेरहद कायमै रहने कुरा बताउनुभयो ।
पार्टीको विधान महाधिवशेनले निर्णय नगर्दासम्म पहिलेकै विधानलाइ कायम राखिने भएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्तुत भएको दस्तावेजमाथि प्रश्न उठाउँदै विभिन्न समूहबाट छानिएका समूहका नेताहरूले ७० वर्षे उमेरहद हटाउनुपर्ने कुरामा जोड दिएका थिए ।
बैठकमा विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाउने निर्णय भएको छ । यसअघि ३ हजार प्रतिनिधि रहेपनि अब त्यो संख्या घटाउने भएको छ। केन्द्रीय कमिटीको बैठकमा संगठन विभाग प्रमुखसमेत रहनु भएको पौडेलले व्यवस्थापन गर्न जटिल भैरहेको भन्दै एक प्रदेशबाट ५० जनामात्र सहभागी हुन पाउने गरी संख्या घटाउने प्रस्ताव राख्नु भएको छ।
साथै, महाधिवेशन प्रतिनिधिका रूपमा जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भएपनि अब ५ जना सहभागी हुने प्रस्ताव रखिएको छ ।
विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा भएपनि अब एमालेले विधानमै सात उपाध्यक्ष राख्ने कुरा समेत अनुमोदन भएको छ । उक्त मस्यौदामाथि केन्द्रीय कमिटीको छलफलमा अधिकांश सदस्यले सात उपाध्यक्षको व्यवस्था हुनुपर्ने कुरा बताएका थिय । अध्यक्ष केपी शर्मा ओलीले उक्त कुरा राम्रो भएको भन्दै सात उपाध्यक्ष राख्ने प्रावधानलाई विधान महाधिवेशनले निर्णय गर्ने बताउनुभयो ।
तेसैगरि, अध्यक्ष ओलीले पार्टीले सरकारमा रहँदा महत्वपूर्ण काम गरेको र आफूले गरेको संसद् विघटन ठीक भएको भन्दै, केन्द्रीय सदस्यहरूलाई चुनावमा जान सहज हुने कुरा बताउनुभएको छ । ओलीले भन्नुभयो– ‘राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं, हामीलाई केही गाह्रो छैन ।’
पूर्वप्रधानमन्त्री, अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन शतप्रतिशत ठीक भएको भन्दै ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने दाबी गर्दै सही भएकाले नै दुईपटक संसद् विघटन गरिएको र संसद् विघटन गर्ने विषय हिजो पनि ठीक थियो, भोलि पनि ठीक नै रहने कुरा समेत भन्नुभएको छ।
केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनमा पेस गरिने प्रतिवेदनहरूमा केन्द्रित थियो। यही असोज १५ देखि १७ सम्म एमालेले विधान महाधिवेशन गोदावरीको सम्मेलन हलमा हुने भएको छ ।
स्रोत : नेपाल समाचारपत्र