काठमाडौँ — कर्णजीत बुढाथोकी नेतृत्वको पार्टीको नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘वस्तुगत अवस्थाका कारण हाम्रो पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएकै कारण नेकपा (माओवादी केन्द्र) बाट नेकपा (माओवादी केन्द्र समाजवादी) नामकरण गर्ने निर्णय भयो,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले दुई तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदूरदर्शिता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । त्यस्तै ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौं’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका महत्वपूर्ण सवालहरुमा जनसंर्घषका कार्यक्रम, कोभिड–१९ को महामारी, प्राकृतिक विपत्तिको समयमा जनसेवा, राहत वितरण, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम सञ्चालन गर्दै आइरहेकोमा भावी दिनमा पनि यी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता गरिएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्षहरु रंगनाथ ढकाल, विनोद उपाध्याय, महासचिव नरेश शाही, सचिव अरुण घिसिङ, मेखबहादुर खत्री, सिर्जन विक, प्रदेश ५ का संयोजक ध्रुव सत्याल, प्रदेश २ का अध्यक्ष बृद्धि विलासलगायतको उपस्थिति थियो ।
उक्त सम्पूर्ण न्युज जस्ताको तस्तै साभार गरिएको छ।