काठमाडौं : नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुक्र्याउन थालेका छन्। एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रूपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन्। शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा गरे।
देउवाले माधव नेपालको प्रशंसा गर्दैे माधव नेपाल लडाकु मित्र भएको बताए। उनले भने, ‘माधवजी लडाकु मित्र हो। उहाँलाई पनि कुनै धोका हुँदैन। उहाँकै नेतृत्वमा एमाले लोकतन्त्रको पक्षमा उभिन्छ।’ देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुक्र्याएका छन्। ‘माधवजी झन् ठूलो नेता हुनुभयो। माधवजी उक्लिँदै आउनुभएको छ। एमालेको रियल लिडर चाहिँ माधव नेपाल बन्दै हुनुहुन्छ’, दाहालले भने, ‘केपीजी त खस्किँदै खस्किँदै गएका छन्।’
देउवा र दाहालले प्रशंसा गरेपछि माधव नेपालले पनि पार्टीको तर्फबाट प्रधानमन्त्रीको प्रस्ताव आइसके पनि आफू विपक्षी गठबन्धन नछोड्ने बताए।
नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग नमिल्ने स्पष्ट पारे। ‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो’, नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ।’
नेता नेपालले मन उता शरीर यता नभएको बरु सकारात्मक सम्बन्धमा रहेको बताए। ‘तपाईंहरूले भने जस्तो मन यता शरीर उता होइन’, उनले थपे, ‘मन यता सकारात्मक रिलेसनमा छ।’ नेता नेपालले केपी ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरू विद्रोही बनेको बताए। संविधानको धारा ७६ (५) मा पुगेर ओलीको तानाशाही कदम परास्त गर्न विद्रोही एमाले बनेको उनको भनाइ छ। उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको आरोप लगाए।
‘संविधानको धारा ७६(५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको विद्रोही आवाज हो। लोकतान्त्रिक प्रक्रियाबाट तानाशाही जन्मिने रहेछ।’ आजको प्रदेश अनलाइनमा लेखिएको छ।