काठमाडौं, २१ जेठ : जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । सरकारमा जाने लगभग पक्का भएको बताउँदै नेता शरतसिंह भण्डारीले शुक्रबार नै सबै टुंगो लगाउने जानकारी दिएका छन् । लामो समय देखि सरकारमा सहभागी हुन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग सम्बादमा रहेको जसपा नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुनेहरुको नाम (आज) शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने भएको छ ।
जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओलीबीच बिहीबार राती भएको छलफलपछि ठाकुर पक्ष सरकारमा सहभागी हुन तयार भएको हो । प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने सम्भावना छ । अध्यक्ष ठाकुरले दिने नामहरुका बारेमा सहमति जुटे शुक्रबार सरकारमा सहभागी हुनसक्ने नेता भण्डारीले बताएका छन् ।
यता प्रधानमन्त्री ओलीले शुक्रबार आफु निकट नेताहरुसंग त्यसबारेमा छलफल गर्दैछन् । जसपामा ठाकुर पक्षको केन्द्रिय कार्यकारिणीमा बहुमत नजुटेपछि सरकारमा सहभागी हुन ढिलाई भएको थियो । बहुमत जुटाउनका लागी महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु सक्रिय भएका थिए । अहिले ठाकुरको पक्षमा कार्यकारिणी र संसदीय दल दुवैमा ठाकुरको पक्षमा बहुमत पुगिसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओली र ठाकुरबीच जसपालाई ८ मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति भइसकेको छ । जसपाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र भौतिक मन्त्रालय पाउने सहमति भइसकेको स्रोतको दाबी छ ।
सर्वोच्च अदालतले पूर्वमाओवादी केन्द्रका नेतालाई मन्त्रीबाट पदमुक्त गरेपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले सम्हालिरहेका छन् । तिनै मन्त्रालय जसपालाई दिने सहमती भएको हो । जसपाबाट सरकारको नेतृत्व गर्न लागेका महतो उपप्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र उनका समूहका केही नेताहरुलाई समेत सरकारमा सहभागी गराउने गरी छलफल अघि बढेको बताइएको छ । जसपाबाट नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, यादव, उमाशंकर अरघरिया, अनिल झा, प्रमोद शाहलगायत मन्त्री बन्ने सुचीमा छन् । स्रोतका अनुसार नयाँ मन्त्रीहरुले शुक्रबार सांझै सपथ गर्ने तयारी रहेको बुझिएको छ ।