Home > मुख्य समाचार > सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तक अब निःशुल्क

सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तक अब निःशुल्क

काठमाडौं,२० जेठ : सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ ।

यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिनुभयो । जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ ।

जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *