वैशाख,१९ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कोरोना संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्ति समाजले सरकारको यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय सिर्जना गरेको जनाएको छ ।शान्ति समाजका तर्फका सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालको शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ भन्ने सरकारको अभिव्यक्तिप्रति शान्ति समाज आपत्ति व्यक्त गर्दछ । यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय र हतासा सिर्जना गरेको छ । महाविपत्तिको समयमा सरकारले निर्वाह गर्नुपर्ने न्यूनतम दायित्वबाट एकातिर सरकार च्युत भएको देखिन्छ भने सरकारविहीनताको झल्को दिने गरी आएको त्यस्तो अभिव्यक्ति दुःखद एवं दुर्भाग्यपूर्ण छ ।’
विश्वव्यापी महाविपत्तिको रुपमा रहेको कोभिड संक्रमणको सामना गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको पनि शान्ति समाजले जनाएको छ । संकटमा सरकार लगायत कसैले पनि संयम गुमाउनु हुँदैन । तसर्थ सबै क्षेत्र, समुदायसँग सहकार्य गर्न शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ । यो संकटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकार लगायत सम्वद्ध सबैलाई शान्ति समाज आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।