वैशाख,५ काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोभिड (१९ ) कोरोना सङ्क्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर विधिबाट एक हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।
कोरोनाको कूल सङ्क्रमित सख्या मध्ये काठमाडौं उपत्यकामा मात्र ४३५ जना रहेको छन्। तीमध्ये भक्तपुर ४५, ललितपुरमा ६४ र काठमाडौँमा ३२६ जना रहेका छन्।
स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार हाल देशभर ६ हजार २९० जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यस्तै संस्थागत आइसोलेशनमा ५७६ जना र होम आइसोलेशनमा पाँच हजार ७१४ जना छन्।
यस्तै देशभर ११६ जना आइसियु र ४६ जना सङ्क्रमित भेन्टिलेटरमा उपचारत रहेको छन् ।२४ घण्टामा २६२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्। योसँगै निको हुनेको सङ्ख्या भने दुई लाख ७५ हजार ३०० पुगेको स्वास्थ्य मन्त्रालयले जनकारी दिएको छ। यस्तै देशभर ८५ जना क्वारेन्टाइनमा छन् ।
पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भैसकेको छ । योसँगै कोभिड (१९ ) कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ८३ जना पुगेको छ ।