काठमाण्डौ – आज घोडेजात्रा पर्व विविध कार्यक्रमको साथ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडेजात्रा मनाउने गरिएको परम्परा धार्मिक विश्वास छ । नेपाली सेनाले आज टुँडिखेलमा मोटरसाइकल खेल, शारीरिक व्यायाम, घोडे युद्धकलालगायतको भब्य प्रदर्शन गर्छन ।
आजको दिन ललितपुर जिल्लामा एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ । टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गर्ने गरिन्छ ।
यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको नेपाली सेनाले जनाएको छ । टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्र्सी जस्ता तरकारीबालीको बीउ रोप्ने चलन छ ।आज काठमाण्डौ उपत्यकामा सरकारले सार्वजनिक बिदा दिएको छ ।