Home > मुख्य समाचार > जितगढी (बटौली) युद्ध संग्रहालय बुटवलमा निर्माण सुरु

जितगढी (बटौली) युद्ध संग्रहालय बुटवलमा निर्माण सुरु

चुनमणी शर्मा -बुटवल
चैत,६ काठमाडौं   बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) जोड्नेगरि संग्रहालय निर्माण भएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल-अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो ।

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका हुन ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गरे ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *