दोलखा ३ माघ /प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंबैधानिक कदम बिरुद्द नेपाली कांग्रेस दोलखाले आन्दोलनलाई सार्थक रुप दिन शनिबार नौ वटै स्थानीय तहमा बृहत विरोध सभा सम्पन्न गरेको छ।
नेपाली काँग्रेस दोलखाले जिल्लाको कालिञ्चोक, विगु, तामाकोशी, गौरीशंकर, बैत्यश्वर,शैलुङ, मेलुङ गाउँपालिका र भीमेश्वर तथा जिरी नगरपालिकामा एकसाथ विरोध सभाको आयोजना गरेको हो ।
सभापति रुद्रबहादुर खड्काले संसद् विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरि संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य गरेकोले केन्द्रीय कार्यक्रम अनुसार कांग्रेस दोलखाले जिल्लाको ९ ओटै स्थानीय तहमा विरोध सभाको आयोजना गरेको च्छोरोल्पा अनलाइन खबरलाई बताउनु भएको छ ।
आज काँग्रेसको आयोजित विरोध सभालाई दोलखाका नेताले कहाँ- कहाँ सम्बोधन गरे।
कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयोजित विरोध सभालाई रुद्रबहादुर खड्काले, गौरीशंकर गाउँपालिकाको भोर्लेमा आयोजित विरोध सभालाई आङनिमा शेर्पाले, विगु गाउँपालिकाको गुम्बाडाँडा लादुकमा आयोजित विरोध सभालाई केशवराज चौलागाईंले, बैत्यश्वर गाउँपालिकाको मिर्गे लहरेमानेमा आयोजित विरोध सभालाई सचीव बालकृष्ण आचार्यले, मेलुङ गाउँपालिकामा बर्मा लामाले, शैलुङ गाउँपालिकाको बागखोरमा पूर्व सभापती ताराबहादुर कोइरालाले, तामाकोशी गाउँपालिकाको जफेमा भवेन्द्र कार्कीले, जिरी नगरपालिको लिङ्कन बजारमा पूर्व सभापती देवीप्रसाद न्यौपाने तथा भीमेश्वर नगरपालिकाको चरिकोटमा ईश्वर मानन्धरले प्रमुख बक्ताको रुपमा सम्वोधन गरेको नेपाली काँग्रेस दोलखाले जनाएको छ ।
कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयोजित कार्यक्रममा नेकपा परित्याग गरि २ सय जना नेपाली काँग्रेसमा प्रवेश गरेको कालिञ्चोक गाउँपालिकाका सभापति अर्जुन शिवाकोटीले बताउनु भएको छ । बैत्यश्वर गाउँपालिकाको आयोजित कार्यक्रममा नेकपा परित्याग गरी पर्यटन ब्यावसायी एवंं समाजसेवी झलक पाख्रिनको नेतृत्वमा ४८ जना युवा काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रैस बैतेश्वरका गाउँपालिका सभापती राजु उप्रेतीले जानकारी दिनु भएको छ ।