माघ,१ काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा २० हल गोरु जुधाइएको छ ।गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् ।तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत दर्शक गएका थिए । तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने गरेको छ ।
मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो । तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।
यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा १० हल गोरु जुधाइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए । बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिएको थियो।
यो वर्ष पनि तारुमा हजारौं दर्शकहरुले गोरु जुधाएको मनोरन्जन लिन पुगे । तारुकामा २० हल गोरु जुधाइएको थियो । तारुकाको गोरु जुधाई हेर्न एमाले महासचिव ईश्वर पोखरेल, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायत पनि पुगेका थिए ।
महासचिव पोखरेलले परम्परालाई जोगाई राख्ने हो भने यो मेलालाई व्यवस्थित र सुरक्षित गराउन ध्यान दिनु पर्ने बताए । पञ्चकन्या गाउपालिकाको घलेभञ्याङ्मा भएको गोरु जुधाईमा बिष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याको गोरु पहिलो, राजकुमार थापा भद्रुटार दोस्रो ,तेजबहादर थापा पञ्चकन्या तेस्रो भएको छ ।
पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो । जिल्लाको अन्य स्थानमा एक पटक जुधाएर हारजीत भएपछि फेरी दोस्रो चरणमा जुधाउने चलन छैन ।