रमिला योन्जन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी सडक प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध कांग्रेसले सडक आन्दोलन गरेको छ ।
कांग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा खटेका छन् ।
सभापति शेरबहादुर देउवाले मकवानपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेको छ ।
नेता रामचन्द्र पौडेलले काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैछ ।
उपसभापति विमलेन्द्र नीधिले भक्तपुर, महामन्त्री डा. शशांक कोइरालाले मोरङ, कोषाध्यक्ष सितादेवी यादवले ललितपुर, अर्जुननरसिंह केसीले पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेभएको छ ।
गगन थापाले कैलालीको विरोधसभालाई सम्बोधन गर्ने छ ।
केन्द्रीय सदस्य चन्द्रभण्डारी नुवाकोटमा सम्बोधन गर्दैछन ।
केन्द्रीय सदस्यद्वय एनपी साउदलाई अछाम, प्रदीप पौडेल कञ्चनपुर, केन्द्रीय सदस्य शंकर भण्डारी सिराह, सुरेन्द्र पाण्डे रुपन्देही, विरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङ स्याङजाको विरोधसभालाई सम्बोधन गर्दैछन्। रामहरि खतिवडा इलाम, नैनसिंह महरले दोलखामा सम्बोधन गर्दैछन् ।
अन्य केन्द्रीय सदस्यहरू ७७ जिल्लामा कार्यक्रममा सहभागी भएका छन ।
सभापति देउवाले आइतबार एक अपिल जारी गदै प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गनुभएको छ ।
प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाले बताउनुभएको छ ।
प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको छ, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरिहयो र अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको छ ।
नेपाली जनतामा प्रवृत्तिको परिणाममा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, देउवाले जारी गरेको अपीलमा भन्नुभएको छ, सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।
नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिदै जनताको वितृष्णालाई सम्बोधन गर्ने संयम शसक्त ढंगले अघि बढ्ने देउवाले बताउनु भयो ।
जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ?
शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?
महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ?
कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाले प्रश्न गर्नुभएको छ ।
मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस हो भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् । आजको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा काँग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताउनुभएको छ ।