Home > समाचार > सांसद सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

सांसद सरिता गिरीद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ — समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै उनले सर्वोच्च अदातलमा रिट दायर गरेकी हुन् ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले गिरीको रिट दर्ता भएको जानकारी दिए ।गिरीले संघीय संसद प्रतिनिधिसभा, संघीय संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्व लगायतलाई विपक्षी बनाएकी छन् । पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णय अवैधानिक भन्दै उनले रिट दायर गरेकी हुन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार संघीय संसद प्रतिनिधिसभा सदस्य पदबाट उनी असार २५ गते बिहीबार निष्कासित भएकी थिइन् ।पार्टीको ह्वीप उलंघन गरेको भन्दै समाजवादी पार्टीले गिरीलाई सांसद र दलको सदस्यबाट निष्कासित गरेको हो ।

नेपालको नक्सामा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि उक्त नक्सालाई निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको विरोधमा गिरी लागेकी थिइन् । उक्त संविधान संशोधन विधेयकमा उनले संशोधन प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । त्यस्तै, पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको अवस्थामा उनले संसद बैठक बहिष्कार गरेकी थिइन् । त्यसपछि पार्टीले छानबिन समिति गठन गरेर कारबाही गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *