दाङमा आज ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ
घाेराही उपमहानगरपालिका वडा नम्बर ३ का तीन जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का पाँच जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।
सङ्क्रमित हुनेमा सात जना महिला रहेका छन् । त्यस्तै सङ्क्रमितमध्ये चार जना स्वास्थ्यकर्मी रहेका छन् । घोराही १७ का सङ्क्रमित १७ जना र वडा नम्बर १८ का दुई जना भने रिपोर्ट आउन ढिला भएपछि घर गएकाहरु हुन् ।
उनीहरुलाई अहिले आइसोलेशनमा पुर्याइएको छ भने उनीहरुकाे सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कामसमेत सुरु भएको जनाएको छ ।
घोराही उपमहानगरपालिकामा covid -19 कोरोना सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । सङ्क्रमितमध्ये एक जनाको भारतमा ज्यान गएर घोराहीमा स्वाब जाँच गर्दा र अर्का एक जना घोराहीका काठमाण्डौमा सङ्क्रमण पुष्टि भएको हो ।
साथै घोराहीका आठ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यसैबीच बङ्गलाचुलीका एक जनामा कोरोना पुष्टि भएको छ । योसँगै दाङमा सङ्क्रमितको सङ्ख्या एक सय ८६ पुगेको छ ।