जेनिसा खडका
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समिति कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको (आज) बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो ।
कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो।
उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन्। शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो। समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा जारी प्रतिबन्ध जेठ २ गतेसम्म पुर्याउने निर्णय पनि गरिसकेको छ।
केही हिमाली जिल्ला र संक्रमणको जोखिम नभएका स्थानमा भने लकडाउन खुकुलो बनाउने प्रस्तावमा पनि छलफल भइरहेको छ । काठमाडौं र पोखराजस्ता संक्रमणका केसहरु नदेखिएका आर्थिक गतिविधिका केन्द्रमा पनि क्षेत्रगत रुपमा खुकुलो बनाउने प्रस्ताव पनि आएको समितिका एक सदस्यले बताए ।
त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् ।
वैशाख १५ गतेबाट सकिने लकडाउन बढाउने वा खुकुलो बनाउनेबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।