Home > मुख्य समाचार > नेपाली कांग्रेस महाधिवेशनको मध्यमार्गी धुर्विकरणको केन्द्र बन्दै महामन्त्री उम्मेदवार नैनसिंह मह

नेपाली कांग्रेस महाधिवेशनको मध्यमार्गी धुर्विकरणको केन्द्र बन्दै महामन्त्री उम्मेदवार नैनसिंह मह

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको निर्धारित मिति अझै टुङ्गो लाग्न नसकेको र पार्टी सञ्चालन विधानसम्मत प्रक्रियामा केन्द्रित हुनुपर्ने बहस चलिरहेको पृष्ठभूमिमा, प्रभावशाली केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा प्रस्तुत गरेका छन् । यो घोषणाले पार्टीको आन्तरिक राजनीतिमा महाधिवेशनको समयतालिका, नेतृत्वको पुस्तान्तरण र वैचारिक दिशानिर्देश जस्ता विषयमा नयाँ तरंग र बहस सिर्जना गरेको छ, र महरलाई सम्भावित मध्यमार्गी ध्रुवीकरणको केन्द्रको रूपमा अगाडि सारेको छ।

महरले पार्टीको महाधिवेशन विधानसम्मत निर्धारित समयमै हुनुपर्ने मागलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन् । हाल पार्टीभित्र महाधिवेशन नियमित समयमै (आगामी मंसिरसम्म नयाँ कार्यसमिति आउने गरी) गर्ने वा विशेष परिस्थिति देखाउँदै समय थपेर गर्ने भन्नेमा दुई धार स्पष्ट देखिन्छ । उनले राजनीतिमा माथिल्लो तहमा पुग्ने आकांक्षा स्वाभाविक भएको बताउँदै आफ्नो दाबीलाई लोकतान्त्रिक प्रतिस्पर्धाको अंशको रूपमा व्याख्या गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देखिएको उनको पुस्ताको जबर्जस्त हस्तक्षेपले समेत त्यो बुझ्न सकिन्छ। उनको यो उम्मेदवारीले पार्टीका स्थापित गुटभन्दा फरक, विधि र प्रक्रियालाई प्राथमिकता दिने धारलाई निकै उत्साहित बनेको छ । स्थापित शक्ति केन्द्र र गुटहरुको समेत आन्तरिक समीकरणको चर्चाको अहिले उनि “हट केक” बनेका छन् ।

महामन्त्री पदका लागि विगत तीन वर्षदेखि तयारी गरिरहेको र यसक्रममा ७५ जिल्लाको भ्रमण सम्पन्न गरिसकेको महरले आफ्नो दावेदारीलाई आकस्मिक नभई सुविचारित भएको संकेत गरेका छन् । ‘मिसन महामन्त्री’ अभियानमार्फत उनले आफ्नो प्रचार र संगठन निर्माणलाई व्यवस्थित गर्ने प्रयास थालेका छन् । अहिले उनले व्यवस्थित रुपमा प्रचार प्रसार सुरु गरिसकेका छन् । नेविसंघको इकाइदेखि केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र हाल शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा रहँदाको अनुभवलाई उनले आफ्नो क्षमताको आधार मानेका छन् । उनको नेतृत्वमा रहेको शिक्षा विभागले सञ्चालन गरेको “स्कूल अफ डेमोक्रेसी” र नीति संवाद जस्ता कार्यक्रमले उनलाई पार्टीको तल्लो तहसम्म पुग्न र विचार निर्माणमा संलग्न हुन मद्दत पुगेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरिरहेको पृष्ठभूमिले उनलाई लोकतन्त्र, विकास र अर्थनीति जस्ता विषयमा वैचारिक स्पष्टतासहित प्रस्तुत हुन बल दिएको छ ।

आफ्नो उम्मेदवारीलाई सार्थक बनाउन महरले १४-बुँदे एजेन्डा अघि सारेका छन्। यसले पार्टीमा संरचनागत, वैचारिक र कार्यशैलीगत सुधारको खाका प्रस्तुत गर्ने दाबी गर्दछ । यी एजेन्डामा ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता, पार्टी र सरकार सञ्चालनका लागि विज्ञ समूह (थिङ्क ट्याङ्क) को स्थापना, बिपी विचारको समयसापेक्ष कार्यान्वयन, आर्थिक पारदर्शिता, युवा सशक्तिकरण, सुशासन, शिक्षा-स्वास्थ्यको पहुँच, लगानीमैत्री वातावरण, र राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति जस्ता समसामयिक र संरचनागत विषयहरू समावेश छन् । यी एजेन्डाहरूले परम्परागत गुटगत राजनीतिभन्दा माथि उठेर मुद्दा र विचारमा आधारित राजनीतिको वकालत गर्छन्, जसले पार्टीभित्रका विभिन्न धारका तर परिवर्तन चाहने प्रतिनिधिहरूलाई आकर्षित गर्न सक्ने सम्भावना देखाउँछ र उनलाई मध्यमार्गी विकल्पको रूपमा स्थापित गर्न सहयोग पुऱ्याउँछ ।

कांग्रेसमा महामन्त्री पदका लागि अन्य नेताहरू पनि आकांक्षी रहे पनि, महरले औपचारिक रूपमा पहिलो उम्मेदवारी घोषणा गरेर आगामी नेतृत्व प्रतिस्पर्धाको प्रारम्भिक विन्दु तय गरेका छन् । यसले महाधिवेशनको मिति निर्धारण गर्न नेतृत्वलाई थप दबाब सिर्जना गर्नेछ । साथै, यसले अन्य सम्भावित उम्मेदवारहरूलाई पनि छिट्टै मैदानमा उत्रन वा आफ्नो रणनीति स्पष्ट पार्न प्रेरित गर्न सक्छ । उनको उम्मेदवारी र मुद्दा-केन्द्रित अभियानले परम्परागत गुटबन्दीभन्दा फरक धार सिर्जना गर्ने प्रयास गरेको छ। कांग्रेस विधानले दुई महामन्त्री निर्वाचित हुने व्यवस्था गरेकोले, यस्तो मध्यमार्गी धारको उदयले प्रतिस्पर्धालाई थप जटिल र रोचक बनाउने देखिन्छ । महरको तयारीको स्तर र अवस्थाको आँकलन गर्दा निकै लाभको अवस्थाको रहेको सहजै कांग्रेसभित्र चर्चा चल्ने गरेको छ ।

नैनसिंह महरको महामन्त्री पदमा उम्मेदवारी घोषणा केवल व्यक्तिगत आकांक्षाको प्रस्तुति मात्र नभएर नेपाली कांग्रेसभित्र महाधिवेशनको समयबद्धता, विधानको पालना, पुस्तान्तरणको बहस, र पार्टी रूपान्तरणको आवश्यकतालाई केन्द्रमा ल्याउने एक रणनीतिक कदमको रूपमा विश्लेषण गर्न सकिन्छ । उनको पृष्ठभूमि, तयारी, विधि-विधानप्रतिको प्रतिबद्धता र प्रस्तुत एजेन्डाले आगामी दिनमा पार्टीभित्र वैचारिक र सांगठनिक बहसलाई थप गहन बनाउने निश्चित छ । विशेष गरी, स्थापित गुटहरूसँग प्रत्यक्ष टकरावभन्दा मुद्दामा आधारित स्पष्ट अडान लिँदै, महरले महाधिवेशन लक्षित सम्भावित ‘मध्यमार्गी’ तर वैचारिक रूपमा स्पष्ट धारको आकर्षणको केन्द्र बन्ने प्रयास गरिरहेका छन्। यसले उनलाई परम्परागत ध्रुवीकरणभन्दा फरक, एक नयाँ र प्रभावकारी शक्तिको रूपमा स्थापित गर्दै चौतर्फी प्रभाव विस्तार गर्ने सम्भावना बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *