२०८१ चैत ५, काठमाडौं ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने सयवटा थुम्का भएको शैलुङ डाँडामा रहेको भीमेसेनको तरबार शिलामा राख्न समाजसेवी एवं गीतकार शोभित उप्रेतीले ५२ किलोको घण्टा र घण्टा राख्न आवश्यक सामग्री सञ्चारकर्मी एवं सङ्गीतकार प्रबिनप्रसाद थपलियालाई तपस होटलमा आज हस्तान्तरण गर्नु भयो ।
ढुवानीसमेतको व्यवस्था गरि हस्तान्तरण गरिएको सो घण्टा भोलि स्थापना गरिने थपलियाले बताउनु भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले सहजीकरण गर्नु भएको सो कार्यक्रममा उप्रेतीलाई माला लगाएर धन्यवाद ज्ञापन पनि गरिएको थियो ।
गत २०८१ माघको चौथो हप्तामा उक्त भिमसेन तरबार शिलाको पूजा पनि सम्पन्न भएको थियो ।
किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको हो ।
तीन हजार एक सय ४८ मिटरको उँचाईमा रहेको शैलुङको सयवटा थुम्कामा ऋषिहरुले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा शै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाँउमा सयवटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय ज्येष्ठ नागरीकहरु बताउँछन् ।