Home > कला र साहित्य > भुवन मास्केको संस्मरण सङ्ग्रह “समय र अनुभूति” लोकार्पित

भुवन मास्केको संस्मरण सङ्ग्रह “समय र अनुभूति” लोकार्पित

२०८१ चैत १ काठमाडौं ।

वासु शशी स्मृति प्रतिष्ठानको आयोजनामा लेखक भुवन मास्के “मुस्कान”को संस्मरण सङ्ग्रह “समय र अनुभूति” कृतिको आज लोकार्पण भयो ।

डालो रेस्टुरेन्ट अनामनगर, काठमाडौंमा आयोजित भव्य  कार्यक्रममा उक्त कृति नेप्रप्रका पूर्व उपकुलपति वरिष्ठ कवि  विष्णुविभु घिमिरे लगायतले लोकार्पण गरेका थिए ।

प्रतिष्ठानकी उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित सो कार्यक्रममा कृतिको लोकार्पणपछि प्रमुख अतिथि घिमिरेले- “संस्मरण र यात्रा साहित्यमा इतिहास र संस्कृति पनि आउने भएकोले जानकारी लिन चाहानेहरूको निम्ति यस्ता कृति अत्यन्तै पठनीय हुने बताउँदै लेख्नु भनेको भाङको नशा जस्तो हो।” भने कृतिकारको कृतिले गायक प्रेमध्वज प्रधान लगायत अन्य थुप्रै लुकेका इतिहासहरू उजागर गरेको पनि बताए ।

कृतिमाथि समीक्षा गर्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले -“पढ्दै जाँदा सजिलो भाषा, मीठो शैली, पढ्दा कुराकानी गरेको जस्तो लाग्ने देखियो । मेरो मन तानियो भन्दै उनले प्रेमध्वज प्रधानको विषयमा ४ वटा निबन्ध लेखिएको जानकारी दिए । उनले टुडिखेलको बारेमा समेत धेरै हामीलाई थाहा नभएको कुरा कृतिमा आएको छ । मालश्री धुनबारे जानकारी भएको छ । कृतिले कुनै सन्दर्भ, दु:ख, घटनालाई  लिएर पाठकको मन रुवाउन सक्ने खुबी नै लेखकको सफलता हो । वास्तवमा कृतिले पाठकको मन निचोर्ने खुबी राख्छ ।” भन्ने धारणा व्यक्त गरे ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाले नयाँ कृतिकार जन्माएकोमा खुशी व्यक्त गरे । उनले वासु शशी, प्रेमध्वज प्रधान र दिवङ्गत वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्रीको स्मरण पनि गरे ।

कृतिकार मास्केले पुस्तक निकाल्न प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरिन् । साथै उनले पढेर आफ्नो कृतिबारे सुझाव र सल्लाह दिन अनुरोध पनि गरिन् ।

कार्यक्रममा परिषद्का सदस्य सचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए  । परिषद्का उपाध्यक्ष कथाकार हिरण्यकुमारी पाठकको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कवि मुरारि सिग्देलले कार्यक्रमको सञ्चालन र सहजीकरण गरेका थिए  । कार्यक्रममा आयोजकले स्रष्टा भुवन मास्केलाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा हिजो फागुन २९ गते राति निधन हुनु भएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई एक मिनेट मौन धारण गरी  श्रद्धा व्यक्त पनि गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *