काठमाडौं– यतिबेला नेपाली सांगीतिक क्षेत्रमा तीजमय भएको छ । अधिकांश लोक शैलिका गायक तथा गायिकाहरु अहिले तीज गीत–संगीतमार्फत दर्शक तथा स्रोतामाझ आइरहेका छन् । अधिकांश तीज गीतहरुमा गायिकालाई गायकहरुले पनि साथ दिएका छन् ।
यसरी सार्वजनिक भैरहेका अधिकांश तीज गीतहरु नृत्यपरक छन्, छमछमि नाच्ने शैलीका छन् ।यसैबीच, लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह परियारले पनि आफ्नो नृत्यपरक गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतवार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको ‘वा रे वा‘’ बोलको गायक सिंहको गीतको भिडियो आकर्षक बनेको छ । तर गायक तथा संगीतकार कन्हैया सिंह परियारको उक्त गीत भने तीजको गीत नभई लोकपप शैलिमा निर्माण गरिएको हो ।
गीतकार डिआर राईको शब्द तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको यो गीतमा आमोस तामाङको संगीत संयोजन रहेको छ । कीर्तिपुरका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा सञ्जीव तामाङले कोरियोग्राफी तथा निर्देशन गरेका छन् ।
भिडियोमा अपेक्षा सिंह तथा सञ्जिव तामाङले फिचर्ड छन् । उनीहरुले गीतको भाव अनुसार आकर्षक अभिनयका साथै सुन्दर नृत्य प्रस्तुत गरेका छन् । देव दोर्जे लामाद्वारा छायांकन गरिएको यो भिडियोलाई जोन राईले सम्पादन गरेका छन् ।