५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ
-
के हो मुद्दा ?
प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।
यो घटना १३ असोजमा बाहिर आयो । त्यसबेला महरा र उनको सचिवालयले आरोप अस्वीकार गरेको थियो । त्यसवेला महराले कर्मचारी समायोजनमा परेपछि आफूमाथि रिस पोखिएको दाबी गरेका थिए । तर महरा र पीडित महिलाको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज लगायतको विश्लेषणबाट प्रहरीले महरा त्यो दिन सुविधानगरस्थित महिलाको घरमा पुगेको निष्कर्ष निकाल्यो ।
१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।
लगत्तै महराले सभामुख पदबाट राजीनामा दिए । यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन् । उनको राजीनामा आएको केहीबेरमा पीडित महिलाको नयाँ भिडियो सार्वजनिक भयो, जसमा उनले बोली फेर्दै महरा आफ्नो कोठामा आउँदै नआएको दाबी गरिन् ।
पीडित भनिएकी महिलाले अदालतमा पनि बलात्कार प्रयास नभएको बयान दिएकी थिइन् । तर उपलब्ध प्रमाणका आधारमा महरा कसूरदार होइनन् भनी मान्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । डिल्लीबजार कारागारमा रहेकै अवस्थामा महरा उच्च अदालत पाटनमा पुगे । उच्च अदालतले जिल्लाको आदेश सदर गर्यो, तर मुद्दाको अन्तिम फैसला छिटो गर्न आदेश दियो ।
त्यसअनुसार सुरू भएको बहस आइतबार नै सकिएको थियो ।