संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको विषयमा पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरेको छ । क्षत्रीले अनियमितता गरेको सम्बन्धमा उजुरी परेपछि अध्ययन गर्न गठित कार्यदलको सुझावका आधारमा समितिले छानबिनका लागि सिफारिस गरेको हो ।
समितिको शुक्रबार बसेको बैठकले क्षत्रीमाथि भएको अनुसन्धान र त्यसको परिणामको विवरणबारे लिखित जानकारी गराउन अख्तियार र विभागलाई भनेको छ । प्रतिनिधिसभा सांसद रेनुका गुरुङले २०७५ भदौ २१ मा सेनाले गरेको अनियमितताको छानबिन गर्ने अधिकार अख्तियारलाई दिनुपर्ने सुझावसहितको उजुरी समितिमा गरेकी थिइन् । उनले सेनाले २०७४ फागुनमा जारी गरेको ‘विविध सेवा नियमावली’ मा उल्लेखित शैक्षिक योग्यताको मापदण्डलाई केही उच्च अधिकारीले आफूखुसी व्याख्या गरेको उल्लेख गरेकी थिइन् । उनले बहालवाला उच्च अधिकृतको सम्पत्ति छानबिन गर्न माग गरेकी थिइन् ।
समिति सदस्य दिलेन्द्रप्रसाद बडूका अनुसार भ्रष्टाचार र नीतिगत रूपमा देखिएका अनियमितताको सन्दर्भमा प्रश्न उठेकाले छानबिन जरुरी देखिएको हो ।
समितिले सेनामा समय–समयमा उब्जने गरेको कानुनी एवं नीतिगत विवादबारे छलफल गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, सेनाका कानुन हेर्ने अधिकृत र कानुन मन्त्रालयका अधिकारीलाई बोलाउने निर्णय गरेको छ । ‘सेनामा अनियमितता र संगठनभित्र शोषण भएको विषय किन आइरहन्छ भन्ने जिज्ञासा उठेको छ’, बडूले भने, ‘यसको निराकरण हुनुपर्छ भन्ने मान्यता हो ।’ ‘सेनालाई अख्तियार र सम्पत्ति शुद्धीकरणमा तान्न हुने/नहुने विषय गम्भीर भए पनि सार्वजनिक रूपमा उठेका विषयले निकास पाउनु जरुरी हुन्छ,’ उनले भने ।
साभर गरिएको