Home > कला/साहित्य > बैशाख १३ मा चेतन कार्की र निशा स्मृति पुरस्कार प्रदान गरिने

बैशाख १३ मा चेतन कार्की र निशा स्मृति पुरस्कार प्रदान गरिने

काठमाण्डौ – परिवर्तन नेपाल र निशा संरक्षण कोषको छुट्टा छुट्टै बसेको बैठकले नेपाली चलचित्र क्षेत्र एवं नेपाली गीत संगीत क्षेत्रका विशिष्ट साधक स्व. चेतन कार्कीको स्मृतिमा स्थापना भएको चेतन कार्की स्मृति पुरस्कार र अभिनेत्री मोडल निशा घिमिरेको स्मृतिमा स्थापना गरिएको निशा स्मृति पुरस्कार आगामी वैशाख १३ गते अनामनगर स्थित किम्ची सभाकक्षमा एक समारोहका बिच श्रष्टाहरुलाई प्रदान गरिने भएको छ ।

शुक्रबार परिवर्तन नेपालको कार्य सम्पादन समितिको बैठकले विगत २ दशकभन्दा बढी समय देखि नेपाली चलचित्र उद्योगको श्रीवृद्धि र पेशाकर्मीको उत्थानका लागि संस्थागत एवं व्यक्तिगत तवरले नेपाली चलचित्र निर्माण, निर्देशन र अभिनयको माध्यमबाट पुर्याएको योगदानको लागि निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीलाई २०८० सालको चेतन कार्की स्मृति पुरस्कार प्दान गर्ने निर्णय गरिएको हो । चलचित्रकर्मी मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी शान्तिप्रियको सम्मिलित छनौट समितिको सिफारिसले निर्देशक तथा कलाकार अधिकारीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । १५ हजारको थैली सहित सम्मान प्रदान गरिने चेतन कार्की स्मृति पुरस्कार गत साल अभिनेता निर्देशक देशभक्त खनाललाई प्रदान गरिएको थियो ।

त्यसैगरी निशा संरक्षण कोषका अध्यक्ष समाजसेवी श्री दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको कोषको बैठकले विगत १५ वर्षदेखि नेपाली चलचित्र, मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गर्दै आएकी अभिनेत्री/मोडल अनु शाहलाई नेपाली चलचित्र, म्यूजिक भिडियो प्रतिको साधना समर्पणको उच्च मुल्याङ्कन गर्दै २० हजार नगद थैली सहित को निशा स्मृति पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै विगत १५ वर्षभन्दा बढी समय देखि अभिनय, मोडलिङ र गायन क्षेत्रम सक्रिय रहँदै आएकी कलाकार बविता ढकाललाई २० हजार नगद थैली सहित निशा स्मृति प्रतिभा पुरस्कार प्रदान गरिने अध्यक्ष दाहालले बताए ।

त्यस्तै नगद १० हजार थैली सहित निशा स्मृति पत्रकारिता पुरस्कारबाट विगत २ दशक भन्दा लामो समय देखि निरन्तर रुपमा चलचित्र पत्रकारिताको माध्यमबाट नेपाली कला, संस्कृति, चलचित्र क्षेत्र एवं पेशाकर्मीको उत्थानमा योगदान पुर्याउँदै आएकी संचारकर्मी गीता अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको परिवर्तन नेपालको अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पुरस्कार समाजसेवी दुर्गानाथ दाहाल, चलचित्रकर्मी मोहन निरौला, अभिनेत्री पवित्रा आचार्य सम्मिलित छनौट समितिको सिफारिसमा निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *