दोलखाको शैलुङ गाउँपालिकाकी एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाई भारत लगेर बेचविखन गर्न खोजेको अभियोगमा एक पुरुष पूर्पक्षका लागि थुनामा गएका छन् ।
शैलुङ गाउँपालिका वडा नबर ३ की २७ वर्षिया एक युवतीलाई विवाह गर्ने प्रलोभनमा भारतमा लगी बेचविखन गर्न खोजेको अभियोगमा भारतको सिक्किम बिकलांग सेवा समाजका अध्यक्ष दिपक गौतम पूर्पक्षका लागि थुनामा गएका हुन् । दोलखा जिल्ला अदालतका न्यायधिश कवि प्रसाद न्यौपानेको इजलासमा हिजो भएको थुनछेकको बहशपछि गौतमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
भारतको सिक्किम बिकलांग सेवा समाजको सहयोगमा शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयमा विज्ञान सामाग्री वितरण गर्ने र विद्यालयमा विज्ञान ल्याव सञ्चालन गर्नका लागि सहयोग गर्ने भन्दै आएका गौतमको एक विद्यालयकी शिक्षिका समेत रहेकी युवतीसँग चिनजान भएको थियो । चिनजानपछि युवतीसँग नजिकिएका गौतमले ती युवतीलाई गत मंसिर ८ गते विवाहको प्रलोभन देखाएर भगाएका थिए । शैलुङबाट भगाएर ल्याइएकी ती युवतीलाई गौतमले चरिकोट र काठमाडौंका विभिन्न होटलहरुमा राखि जवरजस्तीकरणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको केही समयपछि गौतमले ती युवतीलाई विवाह गर्छु भनि आस्वासन देखाएर भारतमा विक्रिका लागि लैजाँदै गर्दा ती युवतीले आफु बेचिन लागेको थाहा पाएको प्रहरी समक्ष बयान दिएकी थिइन् ।
भारतमा बेचिन लागेको भन्ने थाहा पाएपछि आफन्तलाई खवर गरी भागेर नेपाल फर्कन सफल भएकी थिइन् । सो घटना लगत्तै फरार भएका गौतमलाई जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वयमा झापा प्रहरीले यही माघ ६ गते पक्राउ गरेको थियो । पक्राउ परेका गौतममाथि पीडीत युवतीले दिएको किटानी जाहेरीका आधारमा जवरजस्ती करणी र मानव वेचविखन तथा ओसारपसार मुद्धा दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जवरजस्तीकरणी र मानव वेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान पुरा गरी प्रहरीले गौतमलाई जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेकोमा अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
थुनामा गएका गौतमले युवती भागेर नेपाल फर्किए लगत्तै सामाजिक सञ्जाल मार्फत पनि धम्क्याएका थिए । उनीमाथि शैलुङ गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र विभिन्न विद्यालयहरुलाई ठगी गरेको आरोप लागेको छ । यद्यपी सो विषयमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय दोलखामा कसैको पनि उजुरी परेको छैन । गौतमले शैलुङ गाउँपालिकामा केही सामाग्री पनि सहयोग स्वरुप वितरण गरेर समुदाय र केही विद्यालयका शिक्षकहरुलाई समेत आकर्षित गरेका थिए ।