राप्रपा लाइ बलियो शक्तिका रुपमा स्थापित गरी छाड्छु- कमल थापा
राप्रपा लाइ बलियो शक्तिका रुपमा स्थापित गरी छाड्छु- कमल थापा

राप्रपा का अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गरी छाड्ने पतिबद्दता व्यक्त गरेका छन्।मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्ययोजनाबारे उनले निरन्तर बैठक गरिरहेने क्रममा आइतबार पार्टीको २१ जनवर्गीय सङ्गठनका प्रमुख र पदाधिकारीहरूको सहभागिता रहेको भर्चुअल बैठकमा अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधीन बनाउन सक्ने दावी गरेका छन्।
पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए।राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई जानकारी दिएका छन।पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने अध्यक्ष थापाले बताए।
गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फसेको भन्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत रहनुपर्ने बताएका छन्।जनवर्गीय सङ्गठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी साङ्गठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए।